दीपेन्द्र के.सी. – प्रस्थान कक्षबाट
के सोच्छन् होला ?
आमाको फेर समातेर
प्रस्थान कक्षको छेउ उभिएका
अवोध वालकहरु,
रसिला आँखाहरु हेर्दै गरेका
आमाहरु,
विहेको हप्तैदिन नवित्दै
रातै साडीमा
विदाईको लाइन उभिएका
नवदुलहीहरु ।
एकलर्को मालामा
सम्झना उनेर
श्रमवजार डुव्न हिडेकाहरुलाई
ओइलाएर सुन्दरता त्याग्नै आँटेको फूलजस्तै
लहरै आँधी खेपेका अनुहारहरु
के सोच्छन होला ?
मनभित्र करौंती चलाएर
विदाईका हात हल्लाउनेहरु
सपना वोकेर उड्छन कि ?
सपना त्यागेर उड्छन कि ?
सपनाहरु त्यहीं छोडेर उड्छन कि ?
श्रपित देशको
फोस्रो स्वाभिमानी राष्ट्रिय गीत गाउदै
के सोच्छन होला ?
प्रस्थान कक्षको छेउ उभिनेहरु ।
फेरि आउलान कि ती ?
सिद्रा झैं सुकेर
जीवन हारेका माछाहरु झैं
हरियाली वेचिसकेका
गुन्द्रुक झैं
टुक्रा टुक्रा भएर सीसाझैं
रेमिटयान्सको धारमा रेटिदै ।
साँच्चि !
के सोच्छन होला ?
आकाशको सानो झयालबाट
हावामा देश नियाल्नेहरु
र
सपनाहरु हावामा उडाएर फर्कनेहरु ।
बागलुङ , हाल ओस्टण्डे बेल्जियम ।