Bibek Dulal Chhetri ‘Damak’ – Parkhanu Parchha Bhanera Pani Naparkheko Kshanma Manis

विवेक दुलाल क्षेत्री “दमक” – पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस

असहाय हुन्छ
निरूपाय हुन्छ
अपाहाज हुन्छ
फुर्ति सबै हराएको हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

त्यो बेला उसको अनुहार हेर्न लायकको हुन्छ
जागर मरी सकेको हुन्छ
उससित आफैले आफैलाई तर्साएको क्षणको झल्को हुन्छ
उसका इच्छाहरूको मृत्यू हुन्छ
नेपथ्यमा खित्काको आवाजले उसालाई गिज्याउदै हुन्छ
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

लाचार हुन्छ
छुब्द हुन्छ
बच्चा झैँ नाजुक हुन्छ
सुन्ने कुराहरू पनि हुदैनन् उससित
सुनाउने कुराहरू पनि हुदैनन् उससित
लक्ष्यमा हिड्न खोजेर पनि सक्दैन
एक ठाउमा स्थिर मन लिन पनि सक्दैन
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

जसरी पुराना पातहरू झर्दै
नया पातहरू पलाउछन्
रुखमा ,विरुवामा
त्यसरी नै खराब बिचार उबाट खसेर
उसमा सज्जन बिचारहरूले हराभरा हुनु पर्ने हो ;
जसरी नदि अविचलित रूपमा
अविरल बगिरहेकै हुन्छ
त्यसरी नै उसले दृढ भै आफुलाई
आफ्नो सुदूर भबिश्यमा हिडाउनु पर्ने हो ;

तर उ सबै कर्मबाट चुके पछि निहत्था हुन्छ
उसको भाग्य बिचमै फुटेपछि उ फाल्टू हुन्छ
अनि त –
हावामा कावा खादै हिडिरहन्छ उ
अनि त –
मूलबाटो नै भुले जसरी डुलिरहन्छ उ .

यसरी –
निरह हुन्छ
पर्खनु पर्छ भनेर पनि नपर्खेको क्षणमा मानिस .

अस्तु :
दमक ,झापा