Sandhya Regmi – Swabhimani Bol

सन्ध्या रेग्मी – स्वाभिमानी बोल
(प्रवासी नेपालीको देशप्रेम)

नसा–नसामा मेरो दौडिन्छ दिव्य अर्चना
सञ्जीवनी बन्छु म फिजाई नव चेतना
बाच्छु सदा स्वाभिमान भई गरी नित्य सिर्जना
पराधीन भइन कहिल्यै म युगको इतिहासमा ।

अपाङ्ग छु त के भयो चल्दछ मस्तिष्क मेघ सरि
मभित्र सूर्य तेज छ चर्मचक्षु गुमे पनि
एक्लो छु त के भयो महान्धकार म चिर्दछु
एउटै चन्द्र आकाशमा तारागण म जित्दछु ।

नगर अपहेलना सानो भनी दुर्वासा म बन्दछु
नाङ्गो छु त के भयो महादेव झै म दृढ छु
शक्तिहीन नसम्झ है खुकुरी–धार म चम्कन्छु
नखोज गर्न हमला रक्तरक्तमा बलभद्र म बग्दछु ।

चुलिदै जान्छु अझै जति पग्ली बगे पनि
रित्तिन्न म कहिल्यै जति दान गरे पनि
विश्वकै सर्वोच्च शिखर म मलाई निर्धन भन्छ को ?
हिलारी चिनाउने तेञ्जिङ् म मलाई भरिया भन्छ को ?

निकाल्नु परे मोती नै म डुब्छु अथाह समुद्रमा
समात्नु परे चन्द्रमा म उड्छु विशाल व्योममा
प्रदीप्त ज्ञान रश्मि म अज्ञानता हटाउदछु
सौहाद्र्रता र वैभव सर्वत्र फिजाउदछु ।

मभित्र बज्छन् सयकडौ सारङ्गी र बासुरी
सुगन्ध छर्ने मैभरि श्रीखण्ड र कस्तुरी
शान्तिदूत बुद्ध म, म बाड्छु प्रेम माधुरी
प्यास मेट्ने विश्वको म अमृतपूर्ण अञ्जुलि ।

हजार पूmल–कोपिला मभित्र नै फुल्दछन्
साहित्य–सङ्गीतका कला मभित्र नै झुल्दछन्
मभित्र आत्मविश्वासको चन्द्रमा उदाउदो छ
रचिदैछ इतिहास नया विश्व नै ब्यूझाउदो छ ।

भूपरिवेष्ठित छु त के भयो धरतीकै फूलबारी म
शहीदहरूको उत्सर्गभूमि विश्वकै स्वर्गद्वारी म
चन्द्र–सूर्यअङ्कित झण्डा म मलाई हाँक दिन्छ को ?
भीष्म झै जिउछु म मलाई भस्म पार्न खोज्छ को ?