गोपाल कवाली – बसन्तपुरे बालक
मलाई थाहा छ अंकल ‘प्रजातन्त्र’
पोहोर परारै आएको थियो नि?
कताबाट आयो त्यो चाहिं थाहा छैन
त्यो आयो भने फेरि राँगाको मासु खान पाइन्छ
उ माथि जात्रे घुम्तीमा काटछन् र बाँडछन् धुरी भाग
हाम्रो बा ले ल्याउँछन्, परार जस्तै
फेरि पनि आए हुने थियो नि अंकल!
मलाई बाल अधिकार पनि थाहा छ अंकल
आमा बिरामी परेको बेला,
भान्सा देखि लिएर गोठ सम्म मैले गर्नु पर्छ
बा ले नभ्याएका बेला,
आफु भन्दा ठुलो कोदालो लिएर
छिमेकीको पर्म तिर्न जानु पर्छ
बिहान भरि दाजुले बारी जोत्दा
मैले हलो पछि पछि…..
कहिले डल्ला फोर्नु पर्छ
कहिले झार केलाउनु पर्छ
फेरि कहिले हलोका सियो भरि मकै रोप्नु पर्छ
यहि त हो नि बाल अधिकार, हैन र अंकल?
मेरो काम म आफैं ले गर्नु पर्ने मेरो अधिकार हो नि?
आमा बा मेलामा हुँदा,
सानी बहिनि हेर्ने,कुखुराका चल्ला कुर्ने
बाख्रा सार्ने, सुँगुरलाई चारो दिने
यी सबै मेरा अधिकार हुन् नि अंकल?
म संग झोला छ अंकल किताब छैनन्
स्कूल जाने रहर छ तर अवस्था छैन
हेर्नु न अंकल म अहिले पनि उ माथि जंगलमा,
बाख्रालाई डाले घाँस लिन हिंडेको
यो मेरै निजि डोको बोकेर….
यो डोको बोकेको यौटा फोटो खिचिदिनिहोस न अंकल!
अँ अनि आर्को कुरा क्या अंकल………
म जंगल गएको बेला प्रजातन्त्र सुटुक्क आयो भने?
एकछिन पर्खि भन्दिनु है,
मैले सुनेको छु…..
प्रजातन्त्रले हामी बाल बालिकाका अधिकारहरु सुनिस्चित गर्छ अरे
मलाई धेरै कुरा सोध्न मन छ उसलाई
मलाई पढेर ठुलो मान्छे बन्न मन छ
बैनीलाई नर्स बनउने धोको छ
बा आमालाई सुख दिने सपना छ
ल अंकल?त्यसलाई भन्नुहोस है अंकल?
जुलियन,अफगान,२१/१२/१२