Gopal Kawali – Bhanna Lai Ta Bhanthe Paka Haru

गोपाल कवाली – भन्नलाई त भन्थे पाकाहरु

भन्नलाई त भन्थे पाकाहरु,..
ति दिन गए यी दिन आए,
म्वाई खाने ठाउँमा रौँ पलाए,
आँगन भयो परदेश,
घुँडाका भए सिंग,
हो छ झैं लाग्यो
बितेछन अब ति दिनहरु
जहाँ परेलीहरु फर्फराउँथे अनिन्द्राका
तर्किएछन अब ति पलहरु
जहाँ ढुकढुकीहरु सल्बलाउँथे कुत्कुतिका
एकान्तका कुनै सुनसान फलैंचामा
शितल संगै छेलिएर
मन खाने संग कैयौं घण्टा बिताउने क्षणहरु फोस्रीएछन
यादका सिन्कौलीहरुमा,
फूल गुच्छाझैं उनिएका रहरहरु थोत्रीएछन
पारी गाउँमा चुड्के मादल बज्दा
आफ्नै पाराले ताल चाल्ने यी मेरा गोडा
आफ्नै भाखामा मर्किने मेरो कम्मर
शारंगी र बिनायो बिर्साउने,अन्तर आत्माका धुनहरु
उमेरको खुड्किला संगै गल्दै गएछन
नयाँ नाना लाउंदा,मिठो खाना खाँदाका अनन्त आनन्द
नयाँ ठाउं भ्रमण गर्नु पूर्व मनमा उठ्ने तरङ्ग
ब्यबहारको बोझ संगै थिचीएछन
टार्ने पुर्याउने आफैं भएपछि
अविभावकत्व बहन गर्न थालेपछि
सारा सपनाहरु टुट्दै गएछन
अनेक चाहनाहरु उड्दै गएछन
जवानीको रंग पनि ओरालो भाग्दै गएछ
ए साँच्चै हो कि क्या हो……?
अब त बुढेशकाल पो लाग्दै गएछ!!!!

जुलियन,अफगान,२०/१२/१२