Gopal Kawali – Mero Aradhya Tan Ta

मेरो आराध्य तँ त,
साँझै पिच्छे शंख घन्ट बजाए संगै
जल आहुति दिन चुकाएको थियिंन
नैबेधको कमि महसुस गराएको थियिंन
जपहरु, ध्यानहरु बिराएको थियिंन
रगत सुकाउने खडेरी होस्
अथवा, मुटु थर्काउने ठिही होस्
चप्परी उक्काउँदै आफ्नै मन जोत्दा
तलाईं खोकिलामा आसन दिएकै थिएँ
समाजका छाती भित्रका
नफुटेका डल्लाहरू,नमिलेका आँतरहरु,
बिहान सूर्यलाई अर्घ दिए संगै
सम्याउने सल्लाह गरि, संगै सुतेका हामी
मैले दत्तिवन नगर्दै तैंले खोलो तरिस
तँ कस्तो भगवान होस् त?
सानु सुकुल बोकेर,
जब म सम्मोहन बिद्या सिक्न कुटीतिर धाउँछु
मलाई संसार सम्याउनु छ
उता तँ,
बिकर्सणका विकिरणको श्रीस्टि गर्छस
मेरो संसार जलाउन चाहन्छ्स
तेरा र मेरा मस्तिस्कका घर्षणले
मनुआत्मा मा उठेका ज्वार भाटा, अनि
नास्तिकबादका आगलागीहरु
अब कुनै बारुण यन्त्रका बसमा छैनन्
जीवनका नाटकमा तेरो संगतले
जब म राम बन्न खोज्छु
तँ रावणको भूमिका निर्वाह गर्छस
कमसेकम बिभिषण बन्न सक्थिस नि
श्वास धान्ने नित्य दैनिकीमा
तेरो अपरिहार्यता आँक्दै
जब म कृष्ण बन्न खोज्छु
तँ संधै कंश भएर उभिन्छस
कमसेकम सुदामा बन्न सक्थिस नि
ठिकै छ, तँ तिघ्रामै ताली बजा
तँलाई यो हात चाहिंदैन भने
ठिकै छ तँ एकान्तमै लिला देखा
तँलाई मान्छेको साथ चाहिंदैन भने!!!

जुलियन,अफगान,१७/१२/१२