गोपाल कवाली – बिहान होस या बेलुका
बिहान होस् वा बेलुका
चिसो सिरेटोले हानेको बेला
मेरी आमाले,
खरानीमा खट्खट् पकाएर
मुङ्ग्राले डङ्ग डङ्ग पिट्दै धोएर
घाममा सुकाएको रेडिको खास्टो
याद दिलाउँछ यो जाडो
खाना खाने बेलामा
टमाटर धनियाको अचार र रायोको साग संग
बास्मतिको तातो भातमा
खार्दै गरेको एक डाडु घिउ
आमाको हातबाट भागमा खन्याएको
झझल्को दिलाउँछ यो जाडो
दिउसो खाजा खाने बेलामा
भुटेका मकै अनि भटमास संग
बारी बाट परक्क भाँचेर ल्याएको
मुलाको पात अनि मोही
सम्झाउँछ यो जाडो
काममा जाने बेलामा
डम्म कुहिरो लागि हावा चल्दा
ठिहिले टन्टन् भएका हात र कानमा
भाउजुले घरै बुनेका पन्जा र स्काप
सम्झना दिन्छ यो जाडो
ओछ्यानमा पल्टिएर निदाउन खोज्दा
पैतालाहरु चिसोले कट-कट खाएर नतातेका बेला
प्रियाका नरम हातले चिल्लो लगाएको
याद दिई रहन्छ यो जाडो
यहाँ यस्तो छ,सुनेकै जस्तो छ
अरु केहि नभएपनि, यौटा कुरा सारै सस्तो छ
गर्मि ठाउँकालाई त झनै सारो
यहाँ अछिन्न, यत्र-तत्र-सर्बत्र छ यो जाडो!!!!
जुलियन,अफगान,१५/१२/१२