दुर्गाप्रसाद पोख्रेल – अनौठो कलाकार
कतै स्वप्न जस्तो कतै याद जस्तो
कतै तिर्सनाको उही म्याद जस्तो
कतै आज जस्तो कतै भोलिपर्सी
अहो! कोर्छ त्यो चित्त-संसार-फर्सी ।
कतै साधु ध्यानी कतै चोर सन्की
कुनै हिड्छ हाँसी कुनै हिड्छ फन्की
बनेको बिरंगी छ यो मर्त्यधर्मी
अनौठो छ यो रंगको रंगकर्मी ।
कतै स्याउ फल्छन् कतै आँप लिच्ची
कतै बाघभालु कतै सर्प विच्छी
कतै आँधिबेरी कतै घामछाया
छ कस्तो अनौठो अहो! देवमाया !
हिमाच्छादिनी शैलको श्वेतपंङ्क्ति
झरी निर्झरी स्निग्धता भर्छ भक्ति
कतैको छ छाया कसैको छ माया
अनौठो कलाकार हो दिव्यशक्ति ।
कतै दिव्यताले बलेको छ वस्ती
कतै अन्धतामा मिलेको छ मस्ती
जता फर्क यौटै छ संसार सार
प्रभूको कलाकारिता हो अपार ॥
२८ अक्टोबर २०१२ लण्डन