दुर्गाप्रसाद पोख्रेल – म जन्मेको ठाउँनेर
म जन्मेको ठाउँनेर
एउटा ठूलो सिमलको रुख थियो
त्यसमा दमै चराको गुँड थियो
चराका बचेरा भर्खर जन्मेका थिए
जब म जन्मेकी थिएँ
मेरा बाले मलाई सुताउन कोर्को खोज्दै गर्दा
चराको गुँड मजबूत बनिसकेको थियो
तिनमा उत्सव थियो
मेरो घरमा अँध्यारो थियो
कोही हाँसेका थिएनन्
आमा कुनामा बसेर रोएकी थिइन्
बा टाउकोमा हात राखेर घोरिएका थिए
ती सबै दुःखको कारण-
म जन्मेकी थिएँ
म अर्थात् छोरी ।
चराका बच्चाहरूले पाएको माया
मैले पाएको भए
मेरो मन कति प्रफुल्ल हुन्थ्यो
म जन्मेको पल
चरा जति पनि मेरा बा खुशी थिएनन्
मेरी आमा कुनै जघन्य अपराध गरेको दोषी झैं
छट्पटाएकी थिइन् ।
म जन्मेको ठाउँनेर
मान्छेको भन्दा चराको जीवन हार्दिक थियो
चरामा छोरा र छोरीमा भेददृष्टि थिएन
ती मान्छे भन्दा धेरै सुखी थिए ॥
३० अक्टोबर २०१२ लण्डन