डा. मोहनप्रसाद जोशी — पन्ध्र मिनेट अनौठो रह्यो
बेलुकीको टाइम थियो
सान्ध्य भ्रमण भइरहेको थियो
सूर्य भर्खर डुबेको थियो
सानो गोरेटो बाटो थियो
खोल्सो सँगसँगै बनेको थियो
पानीको कलकल आवाज थियो
हावा सरसर बगेको थियो
डाँडाको बाँस हल्लिरहेको थियो
चराहरुको आफ्नै चिरबिर थियो
चारैतिर अति सुन्दर थियो |
म आनन्दित हुँदै हिंड्दै थिएँ
त्यत्तिकैमा एकदम अचम्म भयो,
एक बृहत् चेतना उत्पन्न भयो
जसमा सबै थोक समाहित भयो,
वस्तुहरू अलग देखिन बन्द भए,
अखण्ड चेतनाकै अंश भए |
यस्तो स्थिति दसपन्ध्र मिनेट रह्यो
त्यसपछि बिस्तारै मन फर्किन गयो
हरेक चीज फेरि अलगअलग भयो
तर त्यो पन्ध्र मिनेट जिन्दगीको अनौठो रह्यो
हृदयमा सदालाई सुरक्षित भयो |
(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)