जीवराज घिमिरे – मेरो पहाड
(मधुपर्क माघ, २०६८)
पहाडले आफ्नो छातीमा खोपेर
मोटर गुडाएछ
पहराले आफ्नो कोखामा कपेर
गाडी चलाएछ
ठूलाठूला गिद्धे पहराहरू अब
निरर्थक छैनन् पहाडमा
तारे भीर पनि आफ्नो काखमा
मिनीबस कुदाउने भएछ,
धेरै वर्षपछि यसपटक पहाड पुगेँ म
पहाडले मेरो सञ्चो/विसञ्चो खोज्यो
उन्नति/अवन्नति सोध्यो
छक्क परेँ म
प्रत्येक घरले आफूलाई बिजुलीको
उज्यालोमा नुहाएको देखिन्छ पहाडमा
मिलमा धान कुटेर फर्किएकी कान्छी
ढिकी कुट्न नपरेकोमा खुसी त पक्कै छिन्
तर गाडी पल्टिएर
स्वजनहरूको मृत्युको खवर दिनदिनै सुन्नुपर्दा
झन् पिरलो थपिएको छ पहाडमा,
डाँडामा बसेर दिउँसै बिजुलीपानी चढाएर
छोराको रेमिट्यान्समा खुट्टा बटार्दै
हिँडेका आफन्तहरू देख्दा
मन त्यति खुसी हुन सकेन पहाडमा,
पहाडको दुःख पहाडसँगै छ
एउटा भएको छोरो कतार गएको छ
ज्वाइँले छोडेकी छोरी इजरायल गएकी छे
सन्तानले छोडेका नातिनातिनाहरूको भरमा
वृद्ध शरीरले कतिञ्जेल धान्ने हो पहाडमा ?
सबै झुपडीहरूले कहिले पाउने हो उज्यालो ?
खोइ ! झट्ट हेर्दा त पहाड अब पहाड जस्तो रहेन
तर गहिरिएर बुझ्दा
झन् दुःख पो थपिएछ पहाडमा ।