पूर्नेको जूनलाई किन पर्खेको ?
भेट्ने उनैलाई हो क्यारे,
तिमी उनैलाई उनकै प्रकाशमा देख,
तिमी उनलाई आजै यो औंँसीको रातमा भेट ।
आउने त्यो वसन्तलाई किन कुरेको ?
तिमीले खोजेको फुल हो र ?
उनकै सुवासमा तिमी सास फेर,
तिमी उनलाई आजै यो आएको पुसमै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।
भेटमा ओझाले साइत गाओस् भन्ने छ ?
के उनको बोली सुरिलो छैन ?
उनको बोलीको लयमा तिमी खालि मुन्टो हल्लाउँदै—
ताल मात्रै दिन सक,
तिमी उनलाई अहिले नै बिनाबाजा नै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।
तिमीले कल्पनामै कैयौंचोटि उनलाई
इन्द्रधनुजस्तो चुनरीको घुम्टो ओढाइदिसकयौ,
मजुरको घाँटी–रङ्गको साटनको चोली लगाइदिसक्यौ,
त्यसैले भेटमा त्यस्तो घुम्टो र चोलो
लैजाने सुर होला,
तर तिमी उनी जस्ती छन् उस्तै नै भेट,
बजार जान बेर नगर ।
उनको लाज नै उनको घुम्टो होस्,
तिम्रो अङ्गालोले उनलाई छोपोस्;
साटनजस्तो उनको छाला हेर,
उनी जस्ती छन् उस्तै नै भेट ।
तिमी उनलाई आजै यो औँसीको रातमा भेट ।