जीवन-मृत्यु -योगेन्द्र राज शर्मा
जीवन
टेबुलमुनी पैसा लिन्छ
जीवन
टेबुलमाथी दस्तखत गर्छ ।
जीवन
हतार हतार बस चढ्छ
अर्को जीवन आउँछ
र घचेट्छ
बाहिर
जीवन चिच्याइरहेको हुन्छ
कालिमाटी, कुलेश्वर, बल्खु, किर्तिपुर
बल्खु, कुलेश्वर, त्रिपुरेश्वर, बसपार्क
त्यो आइमाईको
पेटभित्रको जीवन
बेलुनजस्तो फुलिरहेछ ।
मृत्यु निस्सासिन्छ
टाउको फनफनि घुमाउँछ
शास फेर्न खोज्छ
उसको जम्मै पेट
मुख हुँदै
बाहिर निस्कन्छ ।