भोजराज बराल – मान्छे र युद्ध
मान्छे,
न बाढी, पहिरो छेक्न सक्छ,
न भूकम्प, ज्वालामुखी देख्न सक्छ,
अलिकति बादल मडारिंदा,
आफैं भित्र लुकेर बस्ने मान्छे,
ज्वार भाटा र सुनामीसंग
भाग्दै हिड्ने मान्छे,
निर्धा हरुसंग प्रतिस्पर्धा गर्दै,
शान्तिको पोथ्रा निमोठ्दै
बिनाशका बिज रोप्दै
गाउ, शहर बाट उठ,
बस्ति, गस्ती बाट उठ भन्दै,
युद्धका बिगुल
गाउँ शहर, देश, विदेश
फुक्दै हिंडीरहन्छ
धिक्कार तेरो पुरुषार्थ!
……
जातको, रंगको,
अर्थको, व्यर्थको,
भूगोलको, उत्पत्तिको,
क्षेत्रको, धर्मको,
अनुहारको, संस्कृतिको,
सिर्फ युद्धको बिज रोपिरहेछ,
युद्धमा कसैले जित्दैन भनेर जान्दा जान्दै,
युद्ध लाइ गोडमेल गर्दै,
मलजल भर्दै,
मान्छे,
धिक्कार तेरो पुरुषार्थको नमूना!
……
मान्छे,
एउटा पाठ सिक्न पर्छ,
युद्ध मा कसैको जित हुँदैन,
क्षत विक्षत मन,
उस्तै उस्तै अवशेष शरीर,
क्षत विक्षत धन,
टुटे फुटेका रहन सहन,
तैले पाएको विजय र हर्षोल्लास,
अबिर र फूलमाला,
आँसुको भेलमा,
मेल खाँदैन!
युद्धको जहिले पनि विजय हुन्छ!
……
मान्छे,
तेरो हार, जति युद्ध जिते पनि!
युद्ध सधैं जितिरहेकै हुन्छ!
मान्छे,
तेरो पुरुषार्थ
युद्ध को अगाडी निहुरिनै पर्छ!
मान्छे,
अब युद्धका बिज रोप्न छोड,
शान्तिका पोथ्रा निमोठ्न छोड,
तलाई जस्तै अरु सबैलाई,
बाच्न मन छ!
तेरो पुरुषार्थले,
सके
सुनामी रोक,
भूकम्प रोक,
र ज्वालामुखी रोक!
नसके,
युद्धको बिज नरोप!
युद्धमा,
तेरो, मेरो र सबैको हार
तर युद्धको विजय अवश्यम्भावी छ!
– London