आफ्नै दाजुभाइबाट
सुकुम्बासिएपछि
यो बिर्खे
जसलाई जहाँ भेट्छ
आफ्नो कथा सुनाउने गर्छ
आफ्नो ब्यथा सुनाई हिड्ने गर्छ
आफ्नै भाइले घरबाट निकाले पछि
धनीपूर्जा देखाउँदै न्याय माग्छ
“बाबु म कहाँ न्याय पाउँछु ?”
आफ्नै घरबाट
सुकुम्बासिएपछि
यो बिर्खे बारम्बार
जसलाई जहाँ भेट्छ
आफ्नो कथा सुनाउने गर्छ
आफ्नो नाम “बौलाहा साईला”
बनाउने दुनियालाई
बारम्बार सोध्छ
न्वारानको नाम बदल्नेहरूलाई
”दुनियाँ भन म कसरी सहूँ ?”
दुनिया न्याय होइन
पागल नाम दिएर
आफू पन्छिन्छ ।