Kamal Gurung – Birano Galli Ma Bhauntarinda Timro Yaad Ma

कमल गुरुङ – बिरानो गल्लिमा भौतारिदा तिम्रो यादमा

तलुवा खुइलिएको एक जोडी जुत्ता
लम्किन खोज्दैछ, अझै उही स्फूर्तिका साथ
आत्माबल
शोक धून संगै निरन्तर कसरतमय देखिन्छ
एक हुल कागहरु
एकजुटको नारामा परेड खेल्दैछन्, निलो आकाशमा
म भने नारिएको छु
उही पुरानै चिलौनेको हलो जूवामा
कठालोमा
नया सगरमाथाहरु जन्माउदै
निधारमा उम्रेका बक्ररेखाहरु भताभुङ्ग नहुदै
सन्तुलन बनाउन म प्रयासरत छु
तर, खुट्टामा उठेका उन्माद पाराहरुले
मूर्दाबादको मोर्चावद्ध आन्दोलन छेड्दै छन्
सम्झीरहेको छु तिम्रो नाम
मेरो जमिन डगमगाई रहेछ
उर्बर त्यो तिम्रो कोखमा
अस्थिपंजरहरु मात्र भेटिन्छन् अचेल
किन की, रोपिन्छन् दिनहू
हत्या, हिंसा र अशान्तिका बीउहरु
कहलिएका छन् कीर्तिमानधारी
लुटेरा, हत्यारा, कालो बजारीया र नेता आदि
तिम्रो अनमोल अस्मिता
ट्रकको छत माथिको च्यातिएको त्रिपाल बनेको छ l

-इजरायल
(Sent to Sanjaal Corps via Email)