सन्तोष खडका – क्षितिजपारिको शान्ति र प्रेम
म अविच्छिन्न कुरिरहेको छु क्षितिजपारिको सुन्दर जीवनलाई
जहाँ सदाबहार प्रेम र शान्ति छ
तर म बाँचिरहेको छु कृत्रिम जिन्दगी
जहाँको बस्ती प्रेम र शान्तिको अनिकालले शून्य भएको छ ।
मरुभूमिजस्तो मेरो बस्तीमा म प्रेम र शान्ति रोप्न चाहन्छु ।
तर अफसोस !
यहाँ त बालुवा र चट्टानहरू मात्रै छन् ।
प्रेम र शान्ति हराएको मेरो देश
विश्व र जीवन देख्दा म भक्कानिएर रुन्छु
मरुभूमिको कठोर बालुवा र पत्थरमा बज्रिएका यी आँसुहरू
जब सस्ता र अर्थहीन बन्छन्
अनि म झन् जिउँदै मर्छु
संसार प्रेम, शान्ति र मानवताशून्य बन्दै गरेको दृश्य हेर्दाहेर्दै
मेरा आँसुहरू
एक दिन अनायास मेरी प्रेयसीको छातीमा ठोकिँदै
शान्ति र विश्राम पाउँछन्
हठात् उनका कोमल ओठहरू मलाई चुम्छन्
र ओठको निर्दोष मुस्कानले भन्छ
प्रिय अब तिमी प्रेम र शान्तिका लागि नरोऊ
प्रेम र शान्ति्का खातिर बर्सिएका तिम्रा आँसुहरूले
तिम्रै चैनलाई छिन्दै
सुन्दर जीवनलाई जीर्ण बनाइसक्यो ।
म भत्किएर, पिल्सिएर र बर्बाद भएर पनि
मर्न चाहन्नँ
किनभने मलाई प्रेम, शान्ति र मानवता ओइलाएर
नर्क हुँदै गरेको यो संसार
प्रेम र शान्ति छाएर
एकदिन स्वर्ग बन्छ भन्ने विश्वास छ ।
मलाई थाहा छ
मरुभूमिमा समुद्र देख्ने मेरो आकाङ्क्षा
विसङ्गत र अनिश्चित छ भन्ने
तर म भने
सुन्दर सपना देख्न कहिल्यै छोड्दिनँ
शायद मान्छे जिउँदै र्स्वर्ग जान नमिलेर होला
मृत्युपछि भए पनि
स्वर्गको अभीष्ट राख्दो रहेछ ।