रामगोपाल आशुतोष – मानवको बस्तीभित्र
मानवको बस्तीभित्र विनाशब्द ढलिरहेँ
आफ्नै आँगन चित्ता भयो जलिरहेँ जलिरहेँ ।
भित्रभित्रै ऐँठन हुन्थ्यो, आफन्तको प्रहारमा
निस्सासिन्थेँ यद्यपि म जसोतसो चलिरहेँ ।
आँधीबाट, हुरीबाट पराईझैँ आफ्नाबाट
प्रक्षेपित वेदनाका तीरहरू छलिरहेँ ।
केही झरेँ, केही गलेँ, प्रियजनको सताइमा
विश्वासको धरहरा दीपावली बलिरहेँ ।
हुन्थ्यो जलन प्रहारमा प्रेममलम लगाएर
द्वन्द्वबीच अभिमन्यु चक्रब्यूह चलिरहेँ ।