सुमित्रा काफ्ले – जिन्दगीको अनौठो खेल
सपना सुन्दर जिन्दगीका घुमिरहन्छन् वरिपरि
कर्तव्य र जिम्मेवारीहरू झकझक्याउँछन् सधैँभरि
इच्छा र आशाहरू उब्जन्छन् मनमा सदासदा
सपना र कर्तव्यबीचको जिन्दगीको अनौठो खेल ।
इच्छासँग अघि बढ्दा कर्तव्य नै छाडिन्छ कि,
सपनामै डुबिरहँदा यथार्थ नै भुलिन्छ कि,
सपना र कर्तव्यलाई एकैसाथ लान खोज्दा
परिवार र आफ्नाबाटै टाढिन्छ कि,
एकको पक्ष लिँदा यहाँ अर्को रिसाइदिन्छ
अर्कोको पक्ष लिँदा तेस्रो शत्रु भइदिन्छ
सबैलाई रिझाएर राख्न गाह्रो जिन्दगीमा
कसैको भावना नतोडी हिँड्न गाह्रो यहाँ ।
स्वार्थी भए सबै यहाँ विरोधी भइदिन्छन्
उदारवादी भए यहाँ आफैँलाई कुल्चिदिन्छन्
जिन्दगीको साह्रै अनौठो यो चाल
हुन्छ जीवन त्यसै नै बेहाल ।
कहिले इच्छालाई कुल्चेर हाँस्नुपर्दो रहेछ
कहिले आफूलाई नै मारेर खुसी दिनुपर्दो रहेछ
कहिले आफ्नासँग नै लड्नुपर्दो रहेछ
कस्तो खेल यो जिन्दगीको खेल्नुपर्दो रहेछ ।
आफ्नो लागि यहाँ आफैँ गर्नुपर्छ
आफैँ जल्नुपर्छ अनि आफैँ मर्नुपर्छ
पिउनुपर्छ आँखाको आँसु पानीसरि
यस्तै पहेली रहेछ यो जिन्दगानी ।
भक्तपुर