सीता असीम – तिम्रो मेरो दूरी
(मधुपर्क साउन, २०६७)
कुभिण्डोलाई खुट्टा लगाइदिएर
हिँड्न सक्तैन भन्ने मलाई थाहा छ
ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र !
काम आफैंले गरेेको हो
मैले आफँैलाई सम्मान गर्न खोजेँ
त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ ।
‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, अन्यत्र समय खर्च नगर्नु’
तिमीले भनेका थियो ।
मैले आफ्नो पेट मार्न सकिन
कहिलेकाहीँ घरमा अभिभावक भइदिएँ
सडकमा पसारिएका आँसुहरूमा पनि अलिअलि अल्मलिएँ
तिम्रो अनुरोध पालना गर्ने समय पुगेन
हप्ता-महिनामा त के वर्षदिनमा पनि
एउटै केही फलेन
केही नल्याई तिमीलाई के भेट्नु र !
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
उचालेर काँधमा राख्नुपर्ने
काँधमा राख्दा पनि उचाइ नपुगे टाउकैमा टेकाउनुपर्ने
तिम्रो आशय हुँदो हो
भर्याङ्ग मात्रै बनेझैँ लाग्दा पनि मलाई त असहृय भो
चिल्लो-गुलियो पनि उपलब्ध गराउनै सकिन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
निधार खुम्च्याइ-खुम्च्याइ बाबुको नाम सम्झेर
गर्भे टुहुरो भाइको नागरिकता बनाएका तिमीले
जीवित आमाको वास्तै गरेनौं
महिला दिवसका अवसरमा डटेर भाषण गर्यौ
उनीहरूलाई स्वतन्त्रता, स्वामित्व, स्वनिर्णय र पहिचानको
अधिकार दिइरहेको कुरा गर्यौ
मैले प्रश्न उठाउँदा तुकहीन तर्क गरेर टार्यौ
मेरो चित्त बुझेन
त्यसैले अहिले तिम्रो-मेरो दूरी बढेको छ ।
– पर्वत