Rajani Dhakal – Asar Ma Natusayeka Sapana Haru

रजनी ढकाल – असारमा नटुसाएका सपनाहरू

नटुसाई, नअङ्कुराई चुपचाप
बसिरहेको समयलाई
कसरी भन्न मिल्छ
यो असार हो ?
असार मान्न यहाँ
खाएर मात्रै हुँदैन दही चिउरा
नारिनु पर्छ हलगोरु
असार मान्न यहाँ
भएर मात्र हुँदैन बजेट भाषण
रोपिनुपर्छ धानखेत पनि
असार मान्न समयले
जताततै गन्धे झार मात्रै उमारेर कहाँ हुन्छ ?
फुल्नुपर्छ असारे फूलहरू
झुल्नुपर्छ मकैका बोटमा धानचामलहरू
अनि आकाश उधिन्दै उठ्नुपर्छ
फर्सी, करेला र काँक्राका नेपाली सपनाहरूले
कहाँ हुन्छ असार
मात्र खोलो धमिलो हुँदैमा
कहाँ हुन्छ असार
मात्र छातीमा पैह्रो झारेर ?
हिलाम्मे हुनुपर्छ खेतहरू
किसानका रहरहरूले
गाभो बनेर रोपिनुपर्छ सपनाहरू
मङ्‌सिरका लागि
असार बन्न नेपाली मनमा
उदाएर र अस्ताएर मात्रै हुँदैन दिनहरू
आउनु पर्छ भानु जयन्ती
मनमनमा लेखिनुपर्छ कविताहरू
अनि नेपाली भाषाका मायाले
गाइनु पर्छ असारे गीत र रामायणहरू
खै कहाँ आएको छ असार ?
संसदमा विदेशी भाषासँग बेचिएको छ नेपाली भाषा
खै कहाँ आएको छ असार
पटपटी चिरिएका खेतका गराहरूमा
बुढिएका सपना-बीऊहरूले घुँडा टेक्दै
गुहार मागिरहेका बेला
खै कहाँ आएको छ असार ?
मन मात्र धमिलिएका खोल्साहरूमा
पहिरो गएको असार
मलाई स्वीकार्य छैन ।