बिप्लव प्रतिक – अग्निपथ
यो एउटा गोरेटो साँगुरो
धेरै पर पुगेपछि दोबाटाहरू भेटिनेछन्
अनि अझै पर, धेरै पर पुगेपछि मात्रै राजमार्ग भेटिनेछ
त्यहाँ पुग्नेहरूले खबर लिएर आएका
बाटो कति लामो छ भनेर ।
त्यो बाटो लड्खडाउने पाइलाहरूका निम्ति होइन
आगो र आँधीसँग डराउनेहरू यो बाटो हिँड्दैनन्
हिम्मत र लडाइँको बाटो हो यो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
र तर्कको तर्कसँग
बूढो रूख त ढल्नु नै छ
या नदी सागरसँग मिल्नेछ ।
हिँड्दाहिँड्दै यस बाटामा तर्साउने कुरा पर्याप्त छन्
उल्टो दिशाबाट बहुलाजस्तै चिच्च्याउँदै मानिसहरू आउनेछन्
रोकेर सोधे तिनलाई
तिनले भन्नेछन् बाटो डरलाग्दो छ ।
तिमीलाई पनि डर लाग्न सक्नेछ
फर्किन पनि सक्छौ तिमी बीचैबाट
रगतमा लतपत कोही मर्नै आँटेका हुनेछन्
र कति त मरिसकेका हुनेछन्
कहाली लाग्न सक्छ तिमीलाई पनि पराजयको
त्यसबाहेक पुर्वाग्रहको तमाखु पिउँदै बसेका
छद्मभेषी भिखारीहरू तिमीलाई नै रुँगेर बसेका हुनेछन्
कुनै हतियार हुनेछैन तिमीसँग युद्ध गर्न
कुनै अस्त्र हुनेछैन तिमीसँग युद्ध जित्न
न सुस्ताउन गुलाफको फूलको सिरानी
न हरिया मैदान र नीला आकाश
केहीकेही हुनेछैनन्
आगो र आँधीबाहेक ।
हिम्मतको हतियारमा खिया पर्नु हुन्न
दृढ आकाङ्क्षाको ढाल प्वाल पर्नु हुन्न
मैदान जित्नु छ भने निहुरिनु हुन्न
पसल थापेर स्वाभिमानको व्यापार गर्नु हुन्न
हिम्मत र लडाइँको बाटो यो हो
पाइलैपिच्छे यस बाटामा विचारको युद्ध भइरहन्छ विचारसँग
अनि तर्कको तर्कसँग ।
त्यहाँ पुग्ने अर्काथरीले खबर लिएर आएका
बूढो रूख त ढल्ने नै छ
या नदी सागरसँग मिल्नेछ ।
नयाँसडक, १० डिसेम्बर १९८६