Shyamal – Bikash Pandit

विकास पण्डित
झोलाभरी राखेर
इकोलोजीका जेनेभा प्रिन्ट ग्रन्थहरू
ओभरहेड प्रोजेक्टरबाट देखाउँछ
गरीबीको चक्र
र राजधानीका रियल स्टेटसँग
खरीद गर्छ
छ आना जग्गा
विकास पण्डित
छात्रवृत्तिको खोजमा आउँछ
मेरो गाउँमा ।
विकास पण्डित
इन्कार गर्छ विकासका समस्त धारणा
लैंगिक असमानताविरुद्घ लड्दै
पुग्छ कमला तामाङको भट्टी पसलमा
र साँझपख
स्तनका स्पर्शहरु लिएर
फर्कन्छ डेरामा ।
विकास पण्डित
आपत्कालीन सौर्य बत्तीको
धमिलो प्रकाशमुनि बसेर
लेख लेख्छ अंग्रेजीमा
राजधानीको कुर्नै कोठामा
राखिएकी छ उसकी
ग्राजुयट स्वास्नी
जसका लागि
विकासे झोला भिरेर
विकास पण्डित पसेको छ
मेरो गाउँमा ।
उसले पठाएको छ मलाई
स्टेशनरी पसलको दलाल कार्यालयमा
र स्कूल गार्मेण्ट्स्को मुन्सीखानामा
कृपावश
म पनि स्वाबलम्बी हुँदैछु
आत्म विकासमा
म बुझ्दछु
उ केही अंक लिएर फर्कनेछ यस गाउँबाट
केही अनौठा स्मृतिहरू लिएर फर्कनेछ
केही चित्रहरू लिएर फर्कनेछ ।
विकास पण्डित
आफ्नो जागीर थाम्न
म्वाईं खान्छ डाइरेक्टरका छोराछोरीलाई
घडेरी खरीद गर्छ दामी ठाउँमा
र लेख लेख्छ गरीबका नाउँमा ।