हेमन्त परदेशी – ज्वालामुखी बनेर उठ !
बर्षातको अभावमा –
बर्षौँ देखि बाँझा रहेका हाम्रा खेतहरुमा,
यस पल्ट पनि ब्याड राख्न सकिएन ।
अर्थात ,
मुठ्ठी खाएर मुरी उब्जाउने धपेडिमा-
कसैले पाइतलामा फोका र हत्केलामा ठेला उठाउनु परेन ।
हो,
हामी माथिको आकाश धुम्मिएको धेरै भयो,
अनि ,
बस्ती माथिको रमिते डाँडामा –
घाम लाग्न छाडेको पनि उत्ति नै भयो ।
तर त्यो धुम्याइले केवल बस्तीलाई घुम्टो मात्रै ओढायो ,
अर्थात ,
झन्डै झन्डै जून समेत नलागेको रात जस्तै ,
सुनसान र अँध्यारो मात्रै बनायो ।
हो ,
आकाश धुम्मिनुलाई नै –
मनसुनको आगमनको संकेत ठान्यौँ हामीले,
हलो र जुवाको बन्दोबस्त संगै –
काँटा कोदालाहरु पनि अर्जाप्यौँ हामीले ।
तर बिडम्बना !
ब्याड राख्ने साइतमै यो साल पनि मनसुनले धोका दियो ।
मौसम बिभागको अनुमान पनि खडेरीसंगै बिलिन भए ।
अर्थात ,
मौसम बिभागको ठेक्का लिएर राजधानी बसेकाहरु-
सधैँ झै यो साल पनि असक्षम प्रमाणित भए ।
अर्थात ,
अन्दाजमा धेरै र यथार्थको चिरफारमा थोरै बोल्ने-
विवेकशून्य बिचरा निरिह प्राणीहरु !
मौसम कसरी परिवर्तन हुन्छ?
र, पानी कसरी पर्छ?
-को अनभिज्ञतामै –
कुहिरोको काग बनेर टिठलाग्दो गरि अल्मलिइरहे ।
तर पनि ,
किसान हुनुको विवशतामा ,
अर्थात ,
अन्न उब्जाएर जीवन धान्ने यौटै जीजिबिषामा ,
कहिले पानी पर्ला ? र कसरी फसल लगाउन सकिएला ?
-को चिन्तामा-
बर्षौंदेखि सोचमग्न बनिरहेकाछौँ हामी ।
र त ,
यौटा थोत्रो अन्धविश्वासको कमन्डलु लिएर,
बर्षेनी ईन्द्रदेवलाई अर्घ चढाईरहेकाछौं हामी ।
तर बिडम्बना !
यो साल पनि त्यसरी नै ठगियौं हामी ,
उस्तै खडेरीको चपेटामा पर्यौं हामी ,
अन्तत: ,
मौसमको ठगाई र खडेरीको प्रकोपसंगै ,
आफ्नै जिउँने जीजिबिषाको हत्याको ,
मृत्योत्सव मनाउन विवश बन्यौँ हामी ।
तेसैले ,
अब के खाएर बाँच्ने होला?
अथवा ,
कसरी बाँच्ने होला?
-को चिन्तामा होइन ,
निर्धक्क बाँच्नसक्ने अथवा बाँच्न पाउँने –
वातावरण कसरी बनाउँन सकिन्छ?
-को- चिन्तनमा ,
सम्पूर्ण किसानहरु एक ढिका भइ जुट्नुपर्छ ।
र ,
समयमै मनसुन गराएर ,
सबैको जिउने आधार सुरक्षित गर्न ,
खेत खेतमा ब्याड राख्नका लागि ,
अब मौसम मात्रै होइन ,
सिंगो जलवायु नै परिवर्तन गर्ने हिम्मत बाँधेर ,
गाउँ गाउँ र वस्ती वस्तीबाट –
जिउँदो ज्वालामुखी बनेर उठ !