Indra Narthunge – Chorna Najanne Haru Sanga Gunaso

इन्द्र नारथुङ्गे – चोर्न नजान्नेहरुसँग गुनासो

सुनेको थिएँ
चोरहरु टाठा हुन्छन्
चोरहरु बाठा हुन्छन्
कागको गुँडमा बच्चा कोरल्ने
कोईली जस्तै
चङ्ख हुन्छन् ।
परन्तु
होईन रहेछ
म भ्रममा रहेछु
वा
भ्रम ममा हरेछ
चोरहरु लाटा हुँदा रहेछन्
छोक्रा छोडेर बोक्रा मात्र लिने
चोरहरु बिब्ल्याँटा हुँदा रहेछन्

यी चोरहरु हुन्
जस्ले डिमोक्रेसी चोर्यो

स्वार्थको क्यानभाषमा सजायर
प्रजातन्त्रको नामले न्वारान गर्यो
उता कानुन नबने पनि चल्छ
यता बनेर पनि ढल्छ
टायरसँगै सडकमा जल्छ
पुत्लाहरुमा दिनदिनै बल्छ
चोर्न नजाने पछी
सोहोर्न नजाने पछी
सुन भए पनि
नुन भए पनि
के गर्नु हजुर
बाँदरको हातमा नरिवल ।

मिनी स्कर्टमा सजिएर
अर्धाङ्ग हल्लाउँदै
सडकमा निर्लज्ज हिडिरहेका मैंयाहरु
डिस्कोमा वियरले मात्तिएर
जवानी उफार्दै
साल्सा नाचिरहेका सानीहरु
वा
वेभसाईटका पानाभरी
स्विमङ कस्टममा देखिने नानीहरु
के स्वाङ पार्नु आधुनिकताको
किन भ्वाङ पार्नु मैलिकताको
चोर्न सक्छौ त चोर जुक्ती
चार्न सक्छौ त चोर मुक्ति
स्वस्थानी कथामा अल्झिरहेकी
तिम्री आमालाई हेर त
तिमी कहाँ छौ ?

नयाँ पेन्ट टाल्ने
लामो कपाल पाल्ने
कानमा मुन्द्रो हाल्ने
ए ! गोर्खाली छोराहरु
ए ! चोर मोराहरु
बोली चोर्योउ तिमीहरुले
गोली चोर्योउ तिमीहरुले
झोली चोर्योउ तिमीहरुले
गीत चोर्योउ तिमीहरुले
संगित चोर्योउ तिमीहरुले
प्रीत चोर्योउ तिमीहरुले
परन्तु
किन रित चोरेनौ ?
किन जीत चोरेनौ ?
किन अमृत चोरेनौ ?
केरो मुखमा हालेर
बोक्रो सडकमा हुत्याउने
तिम्रो संस्कारलाई हेर त
के तिमी
पश्चिमा जस्तै देखिन्छौ ?

चोर्नेहरुले
दृश्य चोरे दृष्टि चोरेनन्
धर्म चोरे कर्म चोरेनन्
बिचार चोरे ब्यवहार चोरेनन्
खाना चोरे, नाना चोरे
रस चोरे, रङ्ग चोरे
परन्तु
ढङ्ग चोरनन्
त्यसैले चोरहरु
जति चोरे पनि
सधैं दरिद्र
बिचारमा-ब्यवहारमा, कर्ममा-पर्ममा
दृष्टिमा-श्रृष्टिमा, बानीमा-पानीमा
सिर्फ
बेहिसाब जिन्दगी ।