Dr. Biswadeep Adhikari – Bandhak Pareko Jindagi

डा. विश्वदीप अधिकारी – बन्धक परेको जिन्दगी
(मधुपर्क असार, २०६७)

औंसीको रातमा लेकमा बसेर
बेसीको धिपधिपे उज्यालो देख्नेलाई
लागेको होला
शहरीया मोराहरूलाई के विधि सुख
आफूलाई भने जून पनि नलागेर
बौलाउनु परेको छ ।
तर हे लेकाली दाइ
तिम्रो त्यो ठम्याई भ्रम मात्र हो
म बेसीमा नाममात्रको शहरीया
भएको छु
म त तन्नम
बुझ्यौ एकदम तन्नम ।
कमसेकम तिमीसँग त
चौंरीका गोरस छन्
लेकाली आलु छन्
रायोको साग पनि बाक्लै होला
म शहरीयासँग के छ र !
तिमीले शहरतिर र्फकदा देखेको
त्यो धिपधिपे उज्यालो
बिजुली भन्ने ठानेका होउला
यो त त्यहाँ तिमीले बालेको
चौंरीको घ्यूको उज्यालोभन्दा पनि तन्नम
मैनबत्तीको हो ।
तिमीलाई थाहा छैन होला
अचेल शहरमा बिजुली बत्ती छैन
मट्टतिेल छैन
राशन छैन
पाएर खाने आगो पनि छैन
जीउधन सबै सरकारले लिएको छ ।
म र मजस्तै
सबै शहरीयाको जिन्दगी त
बन्धकमा परेको छ
माघको हिउँदमा तिमीजस्तै
हामी पनि काँप्यौ
अब
उखरमाउले गर्मीमा
लामखुट्टेसँग मीत लगाएर
तरतर पसिना काढ्नु पर्नेछ ।
अब हेर शहरको यस्तै चाला हो भने
तिम्रो लेक र हाम्रो बेसीमा
केही फरक हुने छैन ।
हे लेकाली दाइ
तिम्रो साथमा त अलिकति भए पनि
चौंरीको घ्यू छ
औंसीको रातलाई छिचोल्ने
उज्यालोको घेरो हाल्न
तर औंसीको रात चिर्न खै
हामीसँग के छ ?
सबै सुख्खा लागेको छ
हाँडाचिण्डा रित्ता छन्
बस मोटर थन्केका छन्
यसैले आजकाल
सुत्ने, पढ्ने, हिँड्ने कुनै पनि काम
हाम्रो हातमा छैन
बन्धकमा परेका छौँ हामी
युधिष्ठिर पासा बन्धकमा परेजस्तो ।
यो अमानवीय बन्धकभन्दा
हेर तिम्रो लेकको स्वतन्त्रता
क्या रमाइलो
सम्झना मात्र पनि आनन्द आउँछ
यो बन्धक परेको जिन्दगी के जिन्दगी ?
तिम्रो कोलाहलविनाको
शान्त जिन्दगी पो जिन्दगी ।
लेकाली दाइ
बिर्सेर पनि बेसी हुँदै शहर नपस
भूल गर्‍यौ भने
तिमी पनि हामीजस्तै कैदमा पर्नेछौ
म हामी सरकारी बन्धकमा परेजस्तै ।
बरु अब तिमी हाम्रो बन्धकमा पर्लाउजस्तो छ
हामी बेसीबाट लेकतिर उक्लने तरखरमा छौँ
ल है दाइ
दूध, घ्यू अलि बढाउनु
फेरि पनि दुःख तिम्रै भागमा पर्ने भो ।