Hemanta Pardeshi – Sagarmatha Uklindai

हेमन्त परदेशी – सगरमाथा उक्लिंदै

तिमी आऊ या नआऊ ,
मेरो साथ देऊ या नदेऊ ,
त्यो तिम्रो कुरा हो ।
तिमी भित्रको अन्तर्बोधी अवचेतनको ,
तिमी भित्रको स्वकीय दृष्टिबोधको ,
अनि ,
तिम्रो आत्मनिर्णयको अधिकारको ।

तर, यथार्थ यही हो-
कि, मैले – नाङ्गै खुट्टा सगरमाथा आरोहण गर्न सकिन्छ
-लाई-
आफ्नो जीवनदर्शन बनाउने हिम्मत गरिसकेकोछु ।
हो, मैले पनि बुझेकोछु,
बिल्कुल तिमीले बुझे जस्तै-
अर्थात ,
नाङ्गै खुट्टा सगरमाथा उक्लिने –
साहासिक एवम् प्रगल्भ अभियानको बिरुद्धमा ,
थुप्रै दृष्टिविक्षेप र उपहासका अमार्जित कैरनहरु कथिनेछन् ।

अनि ,
आधार शिविरभरि धोबी चरीको गीत बनेर-
द्वेषजनित कायरताका निरर्थक बखानहरु पनि गुन्जिनेछन् ।
किनभने ,
नाङ्गो खुट्टा हिउँ कुल्चनु –
प्राकृतिक बिशृङ्खलता र ,
निराकृतताको पराकाष्ठा मात्रै होइन ,
अग्राह्य मानव उद्वीपनको उपज पनि हो ।

त्यसैले त ,
आज सम्म जतिले सगरमाथाको चुचोरोमा पाइला राखे
अथवा राख्न खोजे,
तिनीहरुले कहिल्यै नाङ्ङो खुट्टा हिउँ कुल्चने हिम्मत गरेनन् ,
अर्थात नाङ्गो खुट्टा हिउँ कुल्चनुलाई –
प्राकृतिक उत्क्रमको सिद्धान्तले रोक्यो / छेक्यो ,
अनि,
परास्त गर्‍यो / अर्हतारहित बनायो ।
एसो भनिरहँदा-
तिमीलाई लाग्न पनि सक्छ,
कि, म – तेन्जिङ शेर्पा र एड्मण्ड हिलारीहरुको उपहास गरि रहेकोछु ,
जुन्को ताबेई र पासाङ् ल्हामुहरुको साहसको खिल्ली उडाइ रहेकोछु ।
तेसैले म तिमीलाई भन्दैछु –
तेन्जिङ र एड्मण्डको गौरबमयी गाथालाई मात्रै होइन-
आप्पा , आङरिता र सुन्दरेहरुको इतिहाँसलाई समेत जीवन्त राख्दै ,
अनि ,
पासाङ र जुन्कोका साहासहरुले आफुमा अनुप्राणिता भर्दै ,
बिल्कुल नाङ्गो खुट्टा ,
अनि ,
बिना अक्सिजन र बिना हिउँ निरोधक परिधान ,
म सगरमाथा आरोहणको यौटा नयाँ ,
एवं ,
प्रायोगिक यात्रामा निक्लिंदैछु ।
हो, म नाङ्गै खुट्टा सगरमाथा उक्लिंदैछु ।