Saroj Dhital – Ke Tyo Manchhe Ho?

सरोज धिताल – के त्यो मान्छे हो ?

हिजो आज
छोरी
जब जब सपनाबाट बिउँझन्छे
किन हो कुन्नि
प्रायशः टोलाउँछे
सुन्दर आँखामा पोतेर तुवाँलो
सोध्छे मसँग
“बा ! कस्तो हुन्छ मान्छे ? ”

आजकल उसको सपनामा
प्रायः एउटा साकार पिण्ड आउँछ रे
रङ्ग र स्वादको पत्रपत्र खोलमा लपेटिएर
त्यसै त्यसै त्यो हिनहिनाउँछ रे
साँगुरो इनारको पिँधबाट
हेर्दै सानो चोइटा आकाशलाई
सत्य भेटेको घोषणा गर्छ रे
अनि गर्जिन्छ रे
ऊ मान्छे हो !
ऊ नै मान्छे हो !!
ऊ मात्रै मान्छे हो !!!

आजकाल
प्रायशः
बिउँझनासाथ टोलाएर एकछिन्
उसले देखेको सपना सुनाउँछे छोरी
र सोध्छे
“बा !
के त्यो साँच्चै मान्छे हो ?’’