सरोज धिताल – आस्था र अवतार
मान्छेको
अगाध आस्था थियो–
भगवान्मा ।
त्यसैले
निस्तेज दृष्टि भएको
माछाको रूप लिंदा उसले
मान्छे मुस्कुराइरह्यो,
सुस्त कछुवा बनिदियो भगवान्
मान्छे पूजा गरिरह्यो,
हरे †
त्यो कुरूप सुङ्गुरकै रूप लेओस्
वा वीभत्स नृसिंह रूप धारण गरोस्
मान्छेले भजन गाइरह्यो
प्रार्थनामै लीन रह्यो ।
मान्छेको अगाध आस्था थियो–
भगवान्मा ।
तर एकदिन
जब आकाशवाणी भयो–
‘भगवान्को अर्को अवतरण हुंदैछ
र यसपालि
आकर्षक अनुहारको धनी
कुशल मायावी
मनुष्य शरीरभित्र
भगवान्को प्रवेश हुंदैछ ।’
अनि मान्छेको आस्था भत्कियो ।
मान्छेले माछालाई नबुझ्ला
कछुवा र वराहलाई नबुझ्ला
तर सुन्दर अनुहार अनि
बलिष्ट शरीरसंगै
कुटिल मन लिएर
शैतानी महलमा बस्ने
आफैंजस्तो देखिने प्राणीलाई
मान्छेले जति अरू कसैले बुझ्दैन ।