Kumar Simkhada – Teej Ki Badhu (Nepali Gajal)

कुमार सिंखडा – तीजकी बधु (गजल)

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को लाग्यो।

भोको पेटमै मेला भर्दा नि, थाक्ने हैनन् मैयाँहरु
रातो सारी, रातो चोली, गाना बजाना झर्को लाग्यो।

घरमै बने व्यञ्जनहरु, भान्सा बस्यो अबेरसम्म
खान बसें दरको पुरा, नूनको मात्रा चर्को लाग्यो।

हिक्का छुट्यो बाडुलीको, लोटाउँदा मझेरीमै
मैयाँजीले दिइन् पानी पिउन खोज्दा सर्को लाग्यो।

सापट पनि तिर्नुथियो, मनको कुरा पोख्नु थियो
भेट्नुथियो चमेलीलाई, यसपालीलाई धर्को लाग्यो।