इन्दिरा शाह – साक्षी
हतारमा दौडिरहने
मान्छेहरूको भीडलाई
एक्लै टोलाएर हेरिरहने
बूढो शिरीषको रूख र
तिलचाम्ले कपाल फुलेको रत्नपार्क
के को प्रतीक्षामा छन् कुन्नि ?
शिरीषकै छायाँमा दिनभरि
मान्छे व्यापार गर्छ जिन्दगीको
अनसन, जुलुस अनि भेटघाट
गर्ने थलो रत्नपार्क
मायाको साटासाट गर्ने ठाउँ
विरोध प्रदर्शन गर्ने ठाउँ
अचेल, ठस्स आउने गन्धले
नाक खुम्च्याउने गर्छ रत्नपार्क ।
गन्ध शौचालयको हो वा
राजनीतिको हो
दिलमायाले भुटेको राँगाको मासुको हो
वा सान्नानीको हातको चियाको ?
सुन्तलीले पोलेको मकैको हो वा
देहव्यापारको लागि बाध्य पारिएकी
अवला नारीको हो ?
पानीमा होस् या चर्को घाममा
माया र शीतलता दिने
शिरीषको बूढो रूख
मुकदर्शक बनेको छ
वर्षौंदेखि चल्दै आएका
संस्कारहरूको ।