भानुभक्त पोखरेल – पिरतीको भाकै नजाती
(मधुपर्क २०६६ चैत)
केटीः ठाउँ न ठहर भेटी
बोल्ने बाटो छेकी, यो मान्छेको बानी नजाती ।
केटाः नजरैले डाकी
हेर्ने मलाई ताकी, त्यो आँखाको नानी नजाती ।
केटीः शर्म नभा जस्तो
माया लाउने सस्तो
शील स्वभावै कस्तो हजुर ?
देख्तै रिस उठ्तो, यो मान्छे ता खूपै नजाती ।
केटाः मुस्कानले हिर्काइ
मेरो दिन चर्काई
मनमा कुरा लुकाई हजुर,
बोल्ने मलाई छकाई, यो मायाको रूपै नजाती ।
केटीः मेरै बाटो कुर्ने
मेरै रूप चोेर्ने
कर्के परी हेर्ने हजुर,
कलेजीमै थुर्ने, यो मान्छेको आखै नजाती ।
केटाः ‘हुन्न हुन्न’ भन्ने
‘हुन्छ हुन्छ बन्ने, पिरतीको भाकै नजाती
पिरतीको भाकै नजाती ।
दुवै एकसाथः ‘हुन्न हुन्न’ भन्ने
‘हुन्छ हुन्छ’ बन्नेः
पिरतीको भाकै नजाती ।
हजुर,
पिरतीको भाकै नजाती ।