Lakshmi Mali – Cactus

शरीरभरि काँडाहरु पालेर
सुरक्षित छ क्याक्टस
विभिन्न थरिका क्याक्टसको समाजमा
विचित्रको अनुभुति हुन्छ
कुनै लड्डूजस्ता
कुनै लट्ठीजस्ता
कुनै चराजस्ता
र कुनै त मान्छे नै जस्ता
तर मान्छेजस्ता भएर पनि
यिनीहरु हावासित लहस्सिन पनि जान्दैनन्
पानीसँग जिस्किन पनि जान्दैनन्
हुरी–बतास, झरी खपेरै बस्छन्
आतंकित पनि छैनन्
हृदय नै नभएकोजस्तो
ढुकढुकी पनि नभएकोजस्तो ।
यति हुँदाहुँदै पनि
अचम्मको सौन्दर्य बोकेर
क्याक्टसमा फूल भने फुल्ने गर्छ
बस् !
केवल समय आउनु पर्दोरहेछ ।