धैर्यशील मनमायाको धैर्य
फुट्न फुट्न खोजेर पनि फुट्दैन
एकनास चलिरहेका छन्
उसका हातहरु
सिमेन्टीको घोलमा पसिना मिलाउँछे
मनको भयानक आँधीबेरीमा
विवश छे मनमाया
डकर्मीको अश्लील ठट्टा पचाउँदै
छातीभरि उर्लिरहेको चिडचिडाहट
लालाबालाको भोक
जँड्याहा बाह्रमासे लोग्नेको माग
झमक्क साँझ पर्दासम्म
अरुको घर बनाउन
चिनियाँ इँटा बोकिरहेकी मनमाया हँसिली देखिन्छे ।
मनभित्रको भुइँचालोलाई काबुमा राख्छे
भोलि काम नपाइएला कि भन्ने डरले होला
सायद एकनास खटिरहेकी छे
आफ्नो अँध्यारो कोठा
चिसो चुल्हो
मरञ्च्याँसे अबोध अनुहारहरु
जँड्याहाको कर्कश स्वर
सिमेन्टीको घोलभन्दा बाक्लो लेदोमा
आफ्नो जीवनको तस्बीर खोज्छे ।
सिन्के धूपको खरानीझैं
जल्दै झर्दै
मनमाया
आफ्नो दुखेको कम्मर
थाकेका हातगोडा
बेला बेला बल्झिने
लोग्नेको कुटाइको चोट
खोइ !
केले मल्हमपट्टी लाउँदी हो कुन्नी ?
मायाले हो वा ममताले
मनमाया फेरि पनि उज्याली देखिन्छे ।