Hem Nath Ghimire – Samjhana

हेमनाथ घिमिरे – सम्झना

स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो ।
सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।।
ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा ।
आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।।

बिहान उठी पियारी मेरी पूर्वमा हेर्दिहुन् ।
सम्झेर आफ्नु पियारा सधैं दर्शन गर्दिहुन् ।।
पूर्वको तारा बोलाई उनी भन्दिहुन् संदेश ।
लिएर जानु सम्झना मेरो टाढाको त्यो देश ।। २ ।।

पूर्वको तारा मलाई हेर्छ संदेश बोकेर ।
सोधुँला भन्थेँ त्यो तारालाई पूर्वमै रोकेर ।।
खबर के छ, संदेश के छ, सुनाई जानु है ।
कोशेली मेरो आँशुका थोपा बोकेर लानु है ।। ३ ।।

बाडुली लाग्यो, बिहान-साँझ मन यो झस्कियो ।
सम्झदै होलिन् पियारी मेरी मुटु यो चस्कियो ।।
किन हो किन सपनी पनि नराम्रो देख्दैछु ।
बिहान उठी, सम्झेर उनी चिठी यो लेख्दैछु ।।४ ।।