Bhupi Sherchan – Prajatantra Diwas

आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
एउटा ठुलो जुलुसले गरिरहेछ शहर परिक्रमा
बाटाभरि हिडिरहेछन सेता दौरा सुरुवालहरु
हेडमासटरको पछि पछि पसिना पुछ्दै बालहरु
चङ्गा झैँ उड्दैछन हावामा काला टापि
(विचारशून्य मस्तिष्कलाइ छोपी)
फर्फराइरहेछन्? जतासुकै काला कोटहरु
(जसभित्र छन्? सायद जुलुसपछि ‘पप्लु’ खेल्न राखेका नोटहरु)

आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको
यहाँ केन्द्रमा मात्र हैन
अन्यत्र भइरहेको होला
प्रत्येक अञ्चलमा, हरेक जिल्लामा
जहाँ गर्दै होलान परिक्रमा
अलङ्?कृतहरु पट्टी मा बेरिएर
झुन्डिएर बिल्लामा
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको

आज प्रजातन्त्र दिबस
धेरै संख्या छ जुलुसेहरुको
तै पनि म सोच्नलाई र सोध्नलाई छु विवश
हो धेरै छ मान्छेहरुको गन्ती
तर खै दुल्हा?
जसको खुशिमा सम्मिलित भइ
हिँडिरहेछ यो जन्?ती!
आज फागुन सात गते
प्रजातन्त्र दिबस
गर्व लाग्दो पर्व नेपालीको