Lakshmi Mali – Raat Lai Chyatera

अतीतका कालखण्डहरुमा
बल्दै छोटिँदै गएको मेरो
जीवनरुपी बत्तीमा
फर्केर हेर्दा
खल्ट्याङ्ग खुल्टुङ्ग बाटोमा छोडिएका समयका अवशेषहरु
पैतालाका डोबहरुलाई समयको प्रवाहले मेट्दै
बाँच्ने र बचाउने भूमिकामा
धेरै टाढा आइसकें म
समयले सिँचेर सारिएका मेरा मुनाहरु
उनीहरुमा चुलिँदै आइरहेका हरिया बसन्तका बैंसहरु
अझै फुलाउन बाँकी मेरा कोपिलाहरुलाई स्पर्श गर्दै
विस्मृतिको लहरमा
आफूलाई बगाइदिए पनि
पीडामुक्त छु भनेर ढाँटूं कसरी म
रातलाई च्यातेर मैले
उज्यालो ल्याउनु नै छ
औंसीले जस्तो
अँध्यारोलाई स्वागत गर्न सक्दिन म ।