जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर
र
ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।