Acharya Prabha – Mero Kumari Maya

मेरो कुमारी माया सुम्पें तिमीलाई
कतै तिम्रो बाहुपासमा लुकेर
बैंशको अनुभूति पाउला भनी
हो….यो माया अन्जान छ,कोमल छ,
जसलाई तिमीले शिशु ठानेर
मायाको स्पर्शले चुम्नु पर्छ
यो मायाले वयस्कले झै
तिम्रो मादक इशाराको भाषा नबुझ्न सक्छ ,
यसले यौवनाको आकर्षणले
तिमीलाई आकर्षित नपार्न सक्छ
किनकी …….यो माया आफ्नो कुमारित्वमा
मात्र लाडिन जानेको छ ,
त्यसैले सुम्पें तिमीलाई
यो कोमल,अन्जान ,कुमारीमायालाई
बैशको पानी उघाउन लगाउछौ भनी
यो माया तिम्रो आलिंगनमा आत्तिन सक्छ
फेरी अन्जान बनेर तिम्रो प्यारमा
मात्तिन पनि सक्छ ,
तिम्रो बिश्वास र भरोशामा
मैले यसलाई छाडेको छु
अत्त्याउने छैनौ बैंशको मीठो अभिप्शामा
यसलाई तिमीले
हो ……यो कलिलो छ ,
यसलाई नमत्याऊ बालशुलभ ठानेर
बस……..यसलाई त तिमीले तरुणावस्थामा
परिभाषित गर्नुपर्छ,
यसको कुमारित्वको तागारोलाई पंछाएर
यौवनको बाटो देखाउनु पर्छ