Prakash Sayami – Shunya Ko Ghau

कवि हुँ म
कहिलेकाहिँ सरकार प्रमुखको प्रतिज्ञाले भन्दा
कविताले सताउँछ मलाई
र छटपटिन्छु पानाभरि भरि
कहिलेकाहिँ
सेनाका बन्दूकले भन्दा
आफ्नै कलमले तर्साउँन्छ मलाई
र पछुताउँछु अक्षरभरि भरी

आजकाल म सोच्छु बम र बारुद भन्दा
मेरै कविता
मेरै लागि हानिकारक भइरहेछ
म हरेक कविताको जन्म अगि मरिरहेकोछु
म हरेक कविताको जन्मसँगै मरिरहेकोछु

मलाई थाहा छ
यो देशका कैयन् कवि भोकै मरे
कविता लेख्दालेख्दै
भोक मेटाउन नसकेर कविता लेख्ने कविहरुलाई
उनकै कविताले कति सराप्यो होला
कति पो रुवायो होला

म कुनै नयाँ कविता लेख्दा
सँधै सोच्छु
मेरो मृत्युपछि
अनाथ हुने
मेरा कविताले
मलाई मृत्युपश्चात् कति सताउलान्

मेरो कविता मजस्तै एक्लो
निहत्था भएर
एकदिन मर्नु नै छ भने
किन आफ्नो जन्म स्वीकार्छ

कवि हुँ म
कहिलेकाहिँ
कविताले भन्दा
आफ्नै जीवनले मलाई
घरिघरि सताउँछ ।