मित्रसँगको संवाद
आत्मदया त किन गर्थेँ र हे मेरा परम मित्र
दोबाटोको अपाङ् कुकूर त भोलिको दिनसगँ जुझ्न
भोको पेट लिई स्वाभिमानका साथ सुतिरहेछ मस्त ।
बरू घृणा जरूर हो, लज्जा पनि हो, आफैँसगँ
असफलताको सघाँरमा मुर्छिएको देशमा
भाग्य खोज्दै बरालिदाँको पीडा हो चसक्क ।
म निदाउन नसक्ने त्यही जून मुनि हो मित्र
त्यही जून मुनि, त्यही शीतल बतास मुनि,
जहाँ ब्यास ऋषीले रचे पौराणिक इतिहास ।
जहाँ अत्याचार र पराया दासत्व नस्वीकार्ने
वीरवीरङ्गना लडाकुहरूले बगाए रगत–
मेरो लाचार जीवन हो पुर्खाहरूको उपहास ।
आफ्नैहरूको दासत्व चुपचाप नदेखेझैँ,
टूलूटूलू लाटा र पापा चुट्किलाको पात्रझैँ,
सुनी बसेको छु बलात्कृत चेलीको क्रन्दन
नसाभित्रको शुरो रगतले माग्दैन न्याय
भोको छ विलाश र द्रब्यको, पीशाचझैँ,
निर्लज्ज हेर्दछु बलात्कारीहरूको रमझम ।
तिमी देख्छौ मित्र जीवन सुन्दर
सिदान्तमा असम्भव मित्रता हाम्रो
मात्र कुरूपता देख्छु म जहीँतहीँ ।
तिमी निदाऊ मित्र, म जागै बस्छु
उदाउँछ भोलि कुरूप सुर्य, लोकाचार
मा होमा हो बराबर थाप्नुछ सही ।