दामोदर पुडासैनी किशोर – मौन बाटाहरू
एक साँझ भेंट हुँदा
सेतो चुवा फूलबाट ओर्लेर
हामी दुबैसँग कानेखुशी गरेथ्यो
ममतामयी वतासले
अहिले सँसारको जुनसुकै कुनामा पुग्दा
त्यही बतासले सुमसुम्याइरहन्छ
तिम्रो सामु
पेश गरिरहेछु एउटा निवेदन
कि ,आँखाको सत्यलाई
नगरियोस् नाटकमा रूपान्तरण
तिमी रारामा जाँदा
उडाउँनु रँग रँगका चँगाहरू
ती चँगाहरूमा नझुण्याइयोस्
सपना र प्रेमका हत्याराहरूका ताज़ा तस्बिर
तिमीले लेख्ने हिमालेखमा
कसरी ब्युँझायौ मान्छेलाई
तिमीले फर्केर दिने उपहारमा खोतल्छु मैले
आगोको मुस्लोबाट ओर्लेर
तिमी
हिमरसमा अक्षर रोप्न हिंडेको खबर छ
हिउँका कण कणमा
आगोका फिलिँगा,फुलका थुंगा,हिँडिरहेको चन्द्रमा
र,बोल्नै नसकेका मान्छेहरूका दमित आवाजहरू छन्
त्यो तिमीले ल्याउँनुपर्छ पोल्टाभरि
तिमीले छाता नओडेको राम्रो
तिमीले छाता ओडेको बेला
छाताले खुरूखुरू चोर्दोरहेछ तिम्रो मुहारको इन्द्रेणी
पर्दा बनेर छाता मुस्कुराइरहेको थाहा पाएर
रक्तचापमा रिँगिएर एक्लै आगों जल्न थाल्दोरहेछ घाम
उकालो चढने बाटाहरू
घुमाउरा र अप्ठेरा छन्
तिम्रा स्वाभिमानका चेतहरूमा
घाउ ठड्याउनेहरूपनि भेटिन सक्छन्
हिँडदाहिँडदै टुँगिन सक्छ बाटो
बाटो टुँगिदैमा कहाँ टुँगिन्छ जिन्दगी
अरू कसैले निर्माण गरेको बाटो टुँगियो भने सम्झ
तिमी सामु उभिएकोछ सँभावनाको बिशाल घाम
घाम र जिन्दगी दुबैलाई
नयाँबाटोबाट उकालो चढाउँन सक्नुपर्छ अब
एउटा जादुई सहरलाई
निसास्सिदो धूलो,बेहोशी दुर्गन्ध
र मान्छेका जालसाजीले
खण्डहरमा रूपान्तरण गरिरहेछन्
त्यही देखेर
दाह्रा किटिरहेछु म
तिम्रो आगमनले कमसेकम निम्त्याओस्
कँचन तरल र बिजुली झट्काको रूपान्तरण
आगोका फिलिंगाहरूबाट
हिमज्योति खोतल्न निस्किएकोछु म
हिमतालहरूमा आगों ब्युँझाइरहेको बेला
भेट हुनेछ कतै तिम्रो र मेरो
हिउँ र आगोको जुहारीमा
किन तेल थपिरहेका छैनौ हामीले?
बाटाहरू मौन छन्
-२०७६ बैशाख २० शुक्रवार
जेनल होटल,बिराटनगर