दामोदर पुडासैनी किशोर – सुस्केराको सालिकमा साइप्रस
चुपचाप बसेका
चारैतिरका समुद्र
स साना थुम्काहरू उक्लेर
जीवनकथा लेख्ने
सल्लाह गर्दैछन्
समुद्रको नीलो भँगालो
उक्लेर जमिनमाथि
हरियो घाँस बनेर नाच्दैछ
समुद्रकै लहरहरू उभिएपछि
फक्रँदैछन् एकनास फूल बनेर
तिनै छालहरू आकाशमा उँडदा उँडदै
चरा बनेर उँडिरहेछन्
एउटी सुन्दरी
सँसारमा घाम ब्युँझेकै क्षणदेखि
ध्यानमग्न छन्
बक्षसम्म पानीमा डुबाएर
उनको चुल्ठोमा
हर्दम् सल्बलाइरहेछन्
अजम्बरी ईन्द्रेणी फूलहरू
माझीले खियाउँदै ल्याएको एउटा डुँगा
हलचल नगरी टक्क रोकियो समुद्रमाथि
रोकिएको डुँगामाथि
जीवन रोप्दैछ माझी
सुवास रोप्दैछ
सुस्केराका बाफिला बतासहरूमा
अर्ध्दमूदित आँखाहरू
पुरै खुल्ने तयारीमा छन्
समुद्रका छाल नाघेर
सबै छालहरू
ठोक्किन्छन् र हार्छन्
सबै बतासहरू
हुनहुनाउँदै आउँछन्
र पार लाग्छन्
बतास र छालमाथि
बिजय उत्सवस्वरूप
बिशाल ज्योतिस्तम्भ रोपिदैछ
पानीको बुई चढेको माटोका सतहहरूमा
सँकटमा बाँच
तर ,खुशीमा बाँच
सँकट बिनाको खुशी
होस बिनाको जीवन हो
लेखिएकोछ
परतिर पानीका अक्षरहरूमा
जसरीपनि
टिकाउँनुपर्छ जीवनलाई
प्यास मेटुन्जेल मात्र सुन्दर हो पानी
उत्रनै नसक्नेगरि चुर्लुम्म डुब्ने हो भने
पानी र जीवन दुबैको अर्थ छैन
२०७५ फागुन २६ आइतबार(मार्च १०,२०१९)
लार्नाका अन्तरराष्ट्रिय बिमानस्थल ,साइप्रस