दामोदर पुडासैनी ‘किशोर’ – झरीको सिमाना
झरीमा रुझेर
गीत लेखिरहेछु
धूलो र जिन्दगीको
घाम ताप्दा ताप्दै चिसिएर
शीतको तातोमा
घाइते जिन्दगी सुमसुम्याइरहेछु
झरीमा रुझिरहेको बेला
बिर्सेको छु सबैकुरा
सबैकुरा बिर्सेको बेला
सम्झेको छु केबल तिमीलाई
हावामा फैलिँदै झरिरहेछ
गुनगुनाउँदै एउटा प्रेमिल नदी
सारेगमका स्थायी र अन्तराहरु
ब्युँतदैछन् बेलगाम
तिम्रो लामो सुस्केरा
मीठोे मुच्र्छनामा गुञ्जिरहेछ
जीवनभरी तिमीले गाएका
झ्याउरे, असारे, ज्याज र रकहरु
रिमिक्स बनेर बजिरहेछन्
रुप्से झरना फालहालेझैँ
बलेसी झरेका बूँद बूँदबाट
सुनिँदैछ चराहरुको मीठो सल्लाह
रुख रुखबाट झरेका तप्क्यानहरुले
निर्माण गर्न खोज्दैछन् माटोमा
समयको अधीर पोल्टाहरु
ठीक यसैबेला
कोर्दैछु मैले मुटुको कुनै कुनामा
मन बसेको मान्छेको मुहार
कालो पर्दा च्यात्छ्यौ आकाशबाट
सेतो चौबन्दीले ढाक्न खोज्दैछ्यौ
पहाडका सुन्दर अनुहारहरुलाई
लर्को लाग्दैछ सेता फूलहरुको
आकाशका नीला बक्षहरुमा
प्रत्येक, फूलहरुमा
फरक अनुहार खोज्दैछ एउटा प्रेमी
खोज्दैछिन् रोगी आमा मुगलानी छोराको थकित अनुहार
टोलाएर खोज्दैछ मान्छे
बदलिएको उसको स्वप्निल स्वरुप
यता हेर्छु उता देखिन्छ्यौ
उता हेर्छु यता देखिन्छ्यौ
गीत गाउँदै लुकामारी गरिरहने
तिम्रो बैसालु बानी
मेटिने भएन कहिल्यै
ब्युँझेर एउटा नदी
झरिरहेछ आकाशबाट
जन्मन खोजिरहेछ
छाना, सडक र टारहरुमा
तिमी नै नाचेको देख्दैछु
झरीका नयाँ थोपामा
बूँदमा बल्झिरहेछ पुरानो घाउ
अथवा ब्युँझिरहेछ बिस्तारै
सप्तरंगी सपनाको चित्र
ध्यानीलाई ध्यान लागेको छ
जवानलाई जवानी लागेको छ
हिँडु कि बसँुको बिचल्लीमा छन् बटुवाहरु
सम्झनेलाई भने कहानी लागेको छ
यो मीठो गीत
यो सुरिलो संगीत
बेला बेलामा ब्युँझाउने
त्यो मेघ र बिजुली
हरेक लहरमा लेखिएको
हाम्रो मीठो कहानी
सबै सबै उदाउँदैछन्
र, अस्ताउँदैछन् क्षण क्षणमा
एउटा जिन्दगी त हो रहेछ झरी
बिस्तारै ब्युँझियो
गुनगुनायो, फर्कियो, फैलियो
बिलायो बिस्तारै, कता कता
झरीको आराधनामा जुट्नेहरुले
निभ्न दिनुहुँदैन कदापि
निरन्तर बर्सिरहने
अमीट र अशान्त मनको ज्योति
झरी झरिरहेको बेला
अतृप्त छ मान्छे
बिरह गाउँदैछन् चराहरु
पानी मन छताछुल्ल पोखिएको बेला
त्यो भन्दा चर्को भेलमा उर्लिँदैछन्
प्यासका सागर महासागरहरु
२०७५ श्रावण २१, सोमबार
ग्वङ्गःबँु, नयाँबसपार्क
Sent from my iPhone