Mohan Banjade – Luli Luli Paiya

मोहन बन्जाडे – लुलि लुलि पाइ य

वक्क नफुटेका स-साना नानीहरुलाई
तिनकै हात समाएर
अगाध मायाले खेल खेलमा
लुलि लुलि पाई भन्दै
उनकै गालामा -उनकै हातले हान्दा
बच्चा किल्कारी छोडेर हाँसे झैं
मेरो देशमा
परचक्रीका काखमा पालिएका
गास देखाएर कोखाई कोखाई गर्दा
मुख बाएर आँ गर्दै
जता गास उतै आँखा पुर्याउनेहरुले सुनाएका
देशभक्तिका गुजारामुखी गीत र
जिन्दगीका कृत्रिम कथा सुनेर
अरु पनि हाँस्दै छन् रे त ?

वाद र वारुद संगैसंगै बेचेर
आफै द्वन्द्ध खेति गरी
आफ्नै लागि शान्ति उद्धम चलाएर
प्रेम, दया र अधिकारका माफियाहरु
अन्त कतैका
अरु कसैका
देश टुक्राउन
समाज तोड्न
परिवार भत्काउन र
मन चुड्न
कहिले कुण्ठा छर्छन्
कहिले घृणा रोप्छन्
आसे खेतीमा लागेकालाई
जुरुक्क काँधमा उचाल्छन्
आफै बोक्सी आफै धामी हुनेहरुको
इतिहास नबुझेर
वा बुझेर पनि बुझ पचाएर
काखमा बस्न गएकाहरु
उताका बासी कुरा खाएर
यता बिष बमन गर्छन्
अनि लालचमा परेर
आफ्ना पूर्खा सराप्दै
पराइद्वारा
पराइका लागि
पराइका हुन
सिङ्गो जीवन खर्च गर्छन्|