Krishna Sen Ichchhuk – Itihas Ko Yas Ghadi Ma

कृष्ण सेन ‘इच्छुक’ – इतिहासको यस घडीमा

यसबेला केही निस्तेज शिरहरु झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुठ्ठीहरु फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरु गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरुलाई झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरु काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा युगको हुंकार सुन्न चाहिरहेछु ।

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक ।

यसबेला मैले कबिता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणहील घडीमा
भोको पेटमा उर्जस्वी चेतनाहरुलाई
निधारबाट रगतका बाछिटाहरु पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेँदीमा रातै लालीगुराँस
तिमी भने यो फेँदीमै अल्मलिनु हुन्न ।

(चैत्र, २०४६)