Samarthya – Harilal

सामर्थ्य – हरिलाल

मौसीको बलेसी उता
पुगेको रातिमात्र हो,
कुन्तीदेवीको गोठपनि उतै छ,
तीनहल गोरु,
चर्पी,
बिज्लीको पोल
सब उतै छ
बडाहाकिम भन्छ सरेको छैन,
नसरेको भए बकेइनाको
बोट खै,
माईथान खै,
सर!
यो बडाहाकिम आफैँ उता सरे’छ
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ,

मद्रासबाट,
छोरो ट्याक्टर पठाइदिन्छु भन्छ
गिरतको दु कठ्ठा जमिन
दिने वचन छ,
हरिरामले निमक हराम गरिदियो
त्यसैले सर,
आप्नै जमिन कमाउने मन छ,
के गरु,
अब त यो टुकडामा त दु मन चामलमात्र सुक्छ,
खाली जमिन जो छ,
त्यसले जलखाइमात्र
पुग्छ;
ऊ नेताले सुझाएछ
कि रासन कार्ड दिन्छ,
जमिन दिन्छ,
खेतमा बोरिङ,
डीएपी युरिया,
बौवाको किताप,
डिसटिभी,
सब फिरी दिन्छ,
खाली उता हिँड भन्छ
मन छैन सर,
यो माटोमा बचपन बिताएछु,
बहुत आमदानी गरेछु,
बाबुहरुले कमाएको
मिट्टी छ यो,
नेता भन्दैथियो,
संविधानले जमिन
बेचिदियो,
खै के हो,
बेचोस्,
त बेचेकै सही,
हलगोरु र चर्पी राखोस्,
खाली मिट्टी फर्काइदिओस्,
हिजोमात्र भोरमा,
परिवार सबले त्यही
जमिनभर आलु गोडेछ,
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ;

आफ्नो नाममा नि सर,
यो देशमा केही छैन,
भोट माग्छ,
मागिरहन्छ,
नागरिक्ता बनाइदिदैन,
मन त लाग्छ त्यतै जाउँ,
सबलाई भरपेट जलखाइ खिलाउँ,
के गरुँ सर,
यो मिट्टीमा पचपन
कटाएछु;
उता पहाड गएछु एकबार,
मलाई नेपाली
भनिदिएन,
उबेला बहुत दुखेथ्यो सर,
आफ्नै देशको मान्छे
चिनिदिएन,
सबले थिचेर हामीलाई
दूर देशको जस्तो बनाएछ
र त मधेस देश भन्छु,
उ चित्त बुझाउदैन,
नभनेर के गरुँ सर,
कोहीले मेरो देश
दिखाउदैन,
तर म नेपाली छु सर,
दशगजमा घर छ,
र त पता छ जमिनको मूल्य,
बडाहाकिम भन्छ सरेको छैन,
नसरेको भए बकेइनाको बोट खै,
माईथान खै,
सर!
यो बडाहाकिम आफैँ उता सरे’छ
रिपोर्ट लेखु न सर,
चुनदेवीको पिल्लर कसले चोरेछ॥