[बिहान]
नारीका चुरा बज्न थाल्छन्
थुरमाथि बसेर
धोवीचरो
गीत गाउन थाल्छ
मेरो गाउँ
बिस्तार ब्यूँझन्छ
पँधेरा जान्छ
र पानी ल्याउँछ
रातोमाटो घोलेर पोतेरी ठीक पार्छ
र संघार लिप्न
मेरो गाउँ
हरेक बिहान
घामलाई निम्त्याउने गर्छ
[दिउँसो]
आमा
रछ्यान छेउका भाँडा मस्काउँछिन्
र भाँडासँगै
आफुलाई पनि खियाउँछिन्
बुद्ध
स्कुल जान्छ
र स्तुति पढ्छ
अर्जुन
धनुकाण हैन
कलम भिर्छ
र जागीरमा जान्छ
धुर्बे
कोदालीले चपरी उप्क्याउँछ
र आफैंलाई थिच्न थाल्छ
अम्बिका
घाँस काट्न जान्छे
र औंलो पनि काट्छे
आकाशको घाम
जोवनले धपक्क बल्छ
मेरो गाउँ भने
घर्ती बूढाले पिँढी कुरे झैं
पिँढी कुर्छ
र आफ्नै अतीतमा डुब्छ
[साँझ]
जसरी
कुनै तरुनी छोरी
बेहुली बनेर माइतीसित बिदा हुन्छे
त्यसैगरी
दिनभरिका असंख्य डामहरु छोडेर
घाम
यहाँबाट बिदा हुन्छ
गाईको बाच्छो
थुनमा झुण्डिए जस्तै
बुबुमा झुण्डिएको बालक च्याप्दै
आमा
चुलामा आगो जोर्छिन्
र खुईऽऽय सुस्केरा काढ्छिन्
धुवाँ
धुरीबाट बाहिर निस्कन्छ
र सायद
अँध्यारोसित साउती मार्छ
अँध्यारो
झ्यालबाट चोर पसे झैं
खुसुक्क भित्र पस्छ
र गाउँको घाँटी मचक्क कस्छ
यसरी
अँध्यारोले छापामारेको मेरो गाउँ
टुकी छेउ पढ्न बसेको बालकले झैं
टुकी निभाउनै बिर्सन्छ
र भुसुक्क निदाउँछ ।