तारामणि राई – फेसबुक मोह
भाद्र मासको बेला
जुवाले काँध गएको गोरु जस्तो
कामको बोझिल ढाकरले थिचिएर
आई पुग्छु घर साँझमा
टेक्दै टेक्दै टेकुवा
म ‘अभागी थेगुवा’ ।
देख्छु-
आगोसँग जिस्किनु पर्ने छोरो
काटिकुटि शकङ्खे किरा जस्तो गँडुल्किदै
ल्यापटप अगाडि राखेर
पढिरहेछ –
फेसबुकका पछिल्लो संस्करणका पाठ्यपुस्तक
लक्षिणको जूनसँग उज्यालिनु पर्ने छोरी
टसमस नगरी
गृहकार्य गरिरहेकी छ –
फेसबुकको वालमा
घरी ‘लाईक’, घरी ‘कमेन्ट गर्दै
घरी ‘स्ट्याटस’को छिद्र परेको घैला भर्दै
अरू त अरू
घरकी जहान पनि
लिसोमा लहाँचे चरो परे जस्तो
मोवाईलमा टाँसिएको टाँसियै गर्छिन्
जसले गर्दा
यो घरको तरकारी नजानिँदो तरिकाले डढ्न थालेको छ
संवाद कम, सन्नाटाको मात्रा बढ्न थालेको छ ।
ई-युगको
तनावले भुन्भुनिँदै-रन्थनिदै
त्यसपछि
पीडामोचन हुन एउटा कविता केर्छु
यसो हेर्छु
अनि क्यानाम,,,,अच्छा शीर्षक राख्छु : ‘फेसबुक मोह’
मलाई तत्क्षण के के नूनै नपुगे जस्तो खस खस हुन्छ
अनि घरका कसैले नदेख्ने गरी सुटुक्क
लग ईन गर्छु – मेरो आफ्नो फेसबुक
र पोष्ट गर्छु
निर्माणधिन उक्त कविता
फेसबुक दुनियाका असङ्ख्य मित्रजनहरूका नाममा!!!
– सोमबार, 19 श्रावण, 2071