बाबु, मलाई बिर्सिस् कि कसो ?
अमाहरुको एउटा प्रश्न…….
बिर्सेर पनि
बिर्सि नसक्नु रहेछ आमा !
त्यो क्षण
जब
मेरो मस्तिष्कमा
चिन्ताको बीउ पनि थिएन
जब
पाइलाले माटो छामेकै थिएनन्
त्यस बखत
मलाई एउटा न्यानोले
छोप्ने गथ्र्यो
त्यो न्यानो
अझै सम्झना छ
तिमी
चोलोका तुना खोल्थ्यौ
एउटा सुगन्ध चल्थ्यो
त्यो सुगन्ध पनि
सम्झना छ
जब म
आँगन नाप्न
मुस्किलले सिक्तै थिएँ
मेरो कलिलो मुठीभित्र
एउटा औंला हुने गथ्र्यो
त्यसले छोडेको काउकुती
अझै सम्झना छ
यदाकदा
घाउ हुने गथ्र्यो औंलामा
औंलाको घाउ पनि
सम्झना छ
जब म
दौंतरीसित रम्दै गरेको हुन्थेँ
तिमी
वनका काढाँमा
हात दर्फराउँदै हुन्थ्यौ सायद
फर्कँदा
तिमीले बोकेको पत्करको भारीमाथि
गुराँसका थुँगा हुन्थे
ओठमा गुराँस जस्तै मुस्कान
जब
साँझ पथ्र्यो
तिमी दियो सल्काउँथ्यौ
दियो
तिमीले कसिँगर बढारेझैँ
मझेरीको सबै अँध्यारो बढारिदिन्थ्यो
आमा !
सम्झना छ
दियो र तिम्रो सामिप्य
अझै सम्झना छ ।